
काठमाडौँ । पदयात्राका लागि चर्चित गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर एक वर्षमा २१ जना पर्यटकको मृत्यु भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार मृत्यु भएकामध्ये ६ जना नेपाली छन् । त्यस्तै भारतका ११, मलेसियाका दुई, युक्रेन र बेलायतका एकरएक जनाको मृत्यु भएको आयोजना प्रमुख रविन कडरियाले बताए । उनका अनुसार धेरैजसो लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन् ।
यस्तै एक वर्षमा पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ । कास्कीमा स्विडेन र जर्मनका तथा मनाङमा अमेरिकाका पर्यटकको मृत्यु भएको आयोजना प्रमुख कडरियाले बताए । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिश नागरिकको सात महिनापछि अवशेष भेटिएको थियो ।
अन्नपूर्ण क्षेत्रमा गएको आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० जना विदेशी पर्यटकले घुमफिर गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५० हजार जनाले धेरै हो ।