
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अबका एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको बताए ।
अखिल नेपाल ट्रेड यूनियन महासङ्घले काठमाण्डौमा गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले सत्तारुढ दलहरूले संविधान संशोधनको मुद्दा उठाइरहेको भन्दै यदि संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताएका हुन् ।
अहिले संविधानमार्फत् नागरिकले पाएको अधिकार दलाल पूँजीपति, नोकरशाह र माफियाहरुलाई नपचेको उनको आरोप छ । इमान्दारिताका साथ संविधान संशोधनको एजेण्डा उठाउन खोजे आफूहरु त्यसका लागि तयार हुने उनले बताए । अहिले बढिरहेको भ्रष्टाचार निर्वाचन प्रणालीका कारण रहेको भन्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारको मुहान सुकाउन समानुपातिक प्रणाली आवश्यक रहेको बताएका छन् ।
यस्तै उनले संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत जनयुद्धलाई हत्या, हिंसा भनिएकाले आफूहरू सदन अवरोधको स्थितिमा रहेको बताए ।