
काठमाण्डौ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ को ५० किलोमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार सडक मर्मतपछि एकतर्फी खुलेको हो । सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकोमा पालिका र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाइएको उनले बताए । सडक खुलेसँगै हिजो बेलुकादेखि रोकिएको गाडी गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।
यसैबीच हेटौँडा (कुलेखानी) फाखेल भएर काठमाण्डौ आउजाउ गर्दा इन्द्रसरोवर गाउँपालिका–२ र ३ को हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाण्डौ जाँदा त्रिभुवन राजपथ तथा कान्ति लोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताए ।