
काठमाण्डौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाण्डौ महानगरपालिकाले महानगरबासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताएका छन् ।
तीसौँ महानगर दिवसका अवसरमा आज, शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा उनले पालिकाको सक्रियताबाट नागरिकले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताएका हुन्।
उपराष्ट्रपति यादवले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाण्डौ महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय केन्द्रबिन्दु रहेको बताए । उनले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिए ।
महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य पालिकाका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवद्र्धन, मठमन्दिरजस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गरे ।
काठमाण्डौ महानगर मेयर बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए । उपमेयर सुनिता डङ्गोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको जानकारी दिईन् ।
१९९६ साल पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मङ्सिर २९ गते काठमाण्डौ महानगर घोषणा गरिएको हो ।