
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा नै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न जरुरी रहेको बताए । उनले नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री २ पटक मात्र बन्न पाउने व्यवस्थाका लागि छलफल चलाइरहेको बताएका हुन् ।
आइतबार कांग्रेसको केन्द्रीय–स्थानीय समन्वय विभागले हेटौंडामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको बताएका छन् । देशमा सरकार बनाउने र ढलाउने खेल चलिरहेको र सोही अनुसारको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
उनले पार्टी र सरकारको नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको औँल्याएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि धेरै योगदान पुर्याइसकेकोले अब त्याग गर्ने बेला आएको बताएका छन् ।
उनले स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिलाई नागरिकले स–सानो सुधार खोजेको बताए । मुस्कानसहितको सेवा नभई मुस्कुराउँदै जानेमुस्कान दिने सेवा खोजेको उनको भनाई छ । स्थानीय तहका जनप्रतिनिधिले घोषणापत्रमा लेखिएको अनुसार के कति काम भयो भनेर स्वमुल्यांकन गर्नुपर्ने उनले बताए ।
महामन्त्री शर्माले सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने माग गरेका छन् ।