
काठमाण्डौ । नेकपा एमालेले सहकारी ठगी प्रकरणको छानबिनको कामलाई नै प्रभावित गर्नेगरी राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) लगायतका संस्था र व्यक्तिहरूले अवाञ्छित गतिविधि गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्तिमा संसद्ले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको बताउँदै प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिहरूका सन्दर्भमा भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन् ।
सहकारी ठगी प्रकरणको अनुसन्धान चलिरहँदा प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति तथा निकायका विरुद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आरोप लगाउँदै छानबिनको प्रक्रियालाई प्रभावित गर्नेगरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय रहेको विज्ञप्तिमा उल्लेख छ ।
फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाई फौजदारी न्याय प्रणालीको प्रभावकारिता बनाउनु सबैको साझा दायित्व भएको एमालेले बताएको छ । सबै पक्षको सकारात्मक सहयोगबाट नै अनुसन्धानको प्रक्रियालाई प्रभावकारी बनाई दोषी नउम्कने र निर्दोष कोही पनि नफस्ने कुराको सुनिश्चितता गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै एमालेले पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपा सांसदहरूले प्रशासनको सूचनालाई अवज्ञा गर्दै गरिरहेको प्रदर्शन पनि गैरकानूनी भएको बताईएको छ ।

