
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताएका छन् । समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताएका छन् ।
आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गरेका छन् ।