
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो २०८१ को उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताएका हुन् ।
लगानी दशकका लागि बैँक तथा वित्तीय संस्थामार्फत कृषिको विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने मन्त्री अधिकारीले बताएका छन् ।
निजी क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको बताएका छन् । मन्त्री अधिकारीले नेपालमा उत्पादित कृषि उपजले सहज रूपमा बजार नपाइरहेको अवस्थामा एक्स्पो वा महोत्सवका माध्यमबाट स्वदेशी उत्पादनको खपतमा सहज हुने तथा बजारको सम्भाव्यताबारे जानकारी हुने समेत बताएका छन् ।