
काठमाडौ । जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका गाडीलाई जिल्ला प्रशासन कार्यालय धादिङले जरीमाना गरेको छ ।
यात्रु बोक्ने अनुमति नभएको गाडीले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो ।
खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जीपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जीपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरीमाना गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती गाडीलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ ।