
काठमाडौं। वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले गत चैत १५ गतेको तीनकुनेको हिंसात्मक घटनाको सत्यतथ्य छानविनका लागि निष्पक्ष आयोग बनाइनुपर्ने बताएका छन् ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले उक्त घटनाको सत्यतथ्य सरकार र सरकारका अधिकारीहरुबाट हुन नसक्ने भन्दै छानविन आयोगको माग गरेका हुन् ।
वरिष्ठ अधिवक्ता भण्डारीले मानव अधिकार आयोगका अध्यक्ष एवं पूर्व न्यायाधीश तपबहादुर मगर निष्पक्ष मान्छे रहेको दाबी गर्दै उनकै संयोजकत्वमा तीनकुनेको हिंसात्मक घटनाको सत्यतथ्य छानविन हुँदा सत्यतथ्य आउनसक्ने बताए ।
वरिष्ठ अधिवक्ता भण्डारीले उक्त घटना सरकार आफैंले नियोजित रुपमा घटाएको हुनसक्ने आशंका व्यक्त गरे । छानविन आयोग बनेर सत्यतथ्य बाहिर नआएसम्म भाटभटेनी लुट्ने, आगो लगाउनेजस्ता गतिविधिमा संलग्न भएका व्यक्तिबाहेक अरुलाई दोषारोपण गर्न र मुद्दा चलाउन नमिल्ने बताए ।
तीनकुनेको उक्त आपराधिक घटनामा जोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री तथा सांसद डा।धवलशमशेर जबरा, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालगायतलाई मुद्दा चलाइनुपर्ने अवस्था नरहेको दाबी गरे । सो घटना पूर्वराजा ज्ञानेन्द्रमाथि दोष लगाउन पनि नहुने उनको भनाइ छ ।