
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेपालमा परिवर्तन भए पनि क्रान्ति भने सफल हुन नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
माओवादीले गर्न खोजेको परिवर्तन पनि २०६४ सालपछि तुहिएको उनको टिप्पणी गरेका छ । ‘माओवादीले २०६४ मा परिवर्तन होला कि जस्तो गरेको थियो । तर, त्यो तुहियो । गर्भ तुहिएपछि के गर्नुपर्छ? त्यो तुहिएको त काम लाग्दैन उनले भनेका छन् ।
नेता बिडारीले नेपालमा फेरि नयाँ विद्रोहको आवश्यकता औँल्याए । अहिले विद्रोहका कुरा गर्दा आलोचना सहन पर्ने अवस्था भए पनि नेताले मनपरी गरेको जनताले हेरिरहन नसक्ने उनले बताएका छन् । अब नेतृत्व कि, सुध्रिनुपर्ने र होइन भने छाड्नुपर्ने उनको भनाइ छ । नालायक भएर सत्ताको वरिपरि बसिरहने छुट कसैलाई पनि रहेको बिडारीले बताए ।
‘यो देश म छ कक्षा पढ्दा गरिब थियो ।’ उनले भने, ‘अहिले म ६७ वर्षको भइसकेँ, गरिब नै छ । राजाको पालादेखि यो देश विदेशी ऋणैऋणले डुबेको छ, अहिले पनि ऋणै छ । यो देशमा विकास निर्माणको पैसा खर्च भएन भनिएको छ, कसले नगरेको, त्यसको दोष मरेको त्रिभुवनलाई दिने’ उनले भन् ।
अहिले सरकार बनाउने क्रममा पापीहरू मिलेर लोभी जतिलाई किनेको उनले दाबी गरेका छन् । तिनै लोभीहरूले ‘मेरो नेता ठिक, मेरो दल ठिक, मेरो कुरा ठिक’ भनिरहेको उनले बताए । नेता बिडारीले अहिले जनताभन्दा जात ठुलो, सत्यभन्दा स्वार्थ ठुलो र न्यायभन्दा नाता ठुलो भएको बताए ।