
काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ ।
सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए ।
सरकारले ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ० क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् ।
मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ कवित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ । अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ ।