
काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितताबारे छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरूले सार्वजनिक लेखा समितिका सभापतिमाथि नै प्रश्न उठाएका छन् ।
उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल गर्न बोलाएको आज आइतबारको बैठकमा सांसदहरूको समितिले समयमै निर्णय लिन नसेकको, भएका निर्देशनहरूलाई कार्यान्वयन गराउन नसकेको, प्रधानमन्त्री–मुख्यसचिवलाई समितिमा बोलाएर जवाफदेही बनाउन नसकेको भन्दै सभापति ऋषिकेश पोखरेलको आलोचना गरे ।
बैठकमा सांसद डा. अमरेशकुमार सिंहले लेखा समितिले प्रधानमन्त्री, मुख्यसचिव बोलाउन नसकेको भन्दै सभापतिको आलोचना गरे । पोखरा विमानस्थल अध्ययन उपसमितिका संयोजकसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले आयोजना स्थलमा पुगेर अध्ययन अनुसन्धान गरेको भन्दै प्रतिवेदनमाथि शङ्का नगर्न आग्रह गरे । नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले उपसमितिले प्रतिवेदन दिइसकेपछि छलफल गरेर समितिले छिटो निर्देशन दिनुपर्ने बताएका छन्।
समिति सभापति ऋषिकेश पोखरेलले सांसदहरूकै व्यवहारबाट समितिको शाख घटाउने काम भएको उल्लेख गरे । समिति न्यायधीश नभएको भन्दै उनले सांसदहरूको प्रस्तुत हेर्दा लेखा समिति न्यायिक निकाय जस्तै हुनुपर्ने देखिएको बताए। पोखराको सन्दर्भमा समितिमा चाँडो छलफल गरेर टुग्याइने उनको भनाइ छ ।
यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न गठित समितिको प्रश्न उठेपछि एमाले सांसद योगेश भट्टराईले नबस्ने घोषणा गरेका छन्।