
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने एमाले पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन् ।
उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेका १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताए ।
कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका एमालेका नेता र कार्यकर्ताको उपस्थिति रहेका थिए ।
यसैबीच उद्यमी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ ।
२०७२ सालको भूकम्पपछि काठमाण्डौ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका नौ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो ।अहिले च्यासलमा रहेको पार्टी कार्यालयमा हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम शुरू गरिएको एमालेले जनाएको छ ।