
काठमाण्डौ । बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न शुरू भएको छ ।
महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले ४ वटा ठाउँमा क्यामेरा जडान गरेर खोजी शुरू गरेको राप्ती सोनारी सब डिभिजन वन कार्यालय, शमशेरगञ्जका प्रमुख मनोज शर्माले जानकारी दिएका हुन् ।
भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि ४ वटा ठाउँमा क्यामेरा जडान भएको उनले बताए । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको प्रमुख शर्माको भनाइ छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको भगवती सामुदायिक वनमा बाघको आक्रमणमा परी राप्ती सोनारी–८ की ६७ वर्षीया चेती बुढाको मृत्यु भएको थियो ।
स्थानीयवासीका अनुसार यो जङ्गलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायो भने देखिने गरेको थियो । यो सामुदायिक वन बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्छ ।