
काठ्माडौं । तनहुँ व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गीका बिरामीको सङ्ख्या बढेको छ ।
बिरामीको चाप बढ्दा जिल्ला अस्पताल दमौलीमा शय्याको अभाव भएको र अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।
१५ शय्या क्षमताको जिल्ला अस्पतालमा दैनिक झन्डै चार सयको हाराहारीमा ज्वरोको लक्षणसहित बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेले जानकारी दिए ।
उपचारका लागि आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा अहिलेसम्म दुई सय ९७ जनामा डेङ्गीको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिएका छन् । दमौली अस्पतालमा तनहुँ, लमजुङ, गोरखालगायतका जिल्लाबाट बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।