
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएको बताउँदै भोलिको पुस्ताका लागि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह गरेकी छन् ।
उनले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुँदै भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् ।
ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको धारणा राखेकी हुन् ।
जलवायु परिवर्तनबाट नेपाल र नेपालजस्ता हिमालय क्षेत्रका देशहरुले भोग्नुपरिरहेका समस्याको अध्ययन गरी विश्व समुदायको ध्यानाकर्षण गराउन र जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्ने उपायहरुको खोजी गर्न नेपालले यो कार्यक्रम गर्न लागेको जानकारी पनि उनले दिइन् ।