
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयको केही लक्ष्य निर्धारणका क्रममा आफू हौसिएको हाल आएर महसुस भएको बताए।
प्रतिनिधिसभाको शून्य तथा विशेष समयमा सांसदहरूले सोधेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री दाहालले लाइसेन्स छपाई र ग्वार्को फ्लाइओभरको विषयमा आफू सुरुमा हौसिएको बताएका हुन् ।
यो अवधिसम्म आफूले ९ लाख लाइसेन्स छपाई गर्ने लक्ष्य लिए पनि १ लाख ६९ हजार मात्रै छाप्न सकिएको भन्दै यसमा लिइएको लक्ष्य क्षमताभन्दा धेरै भएको उनको स्वीकार छ ।
त्यस्तै ग्वार्को फ्लाइओभरमा पनि पुससम्म काम सक्ने लक्ष्य लिइएकोमा यो सम्पन्न हुन नसकेको उनले बताए । उनले कार्यसम्पादन सम्झौतामा फेल भएको विषय भने प्रतिवाद गरे ।
उनले आफ्नो कार्यकालमा मुख्य मुख्य काम सम्पन्न गरेको दाबी समेत गरेका छन्। सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु भएको, ३७ वटा पुलको लक्ष्य रहेकोमा ४१ वटा बनाएको, २२५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा २७६ किलोमिटर कालोपत्रे सम्पन्न गरेको उनको भनाइ छ ।
उनले बाढी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको ठेक्का यसै महिनाको अन्त्यसम्ममा गरिसक्ने बताए । यसका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भएको भन्दै उनले यसै महिनाको अन्त्यसम्मका दुईवटा ठेक्का आह्वान हुने बताएका छन्।
मन्त्री दाहालका अनुसार बीपी राजमार्ग पुननिर्माणका लागि तीनवटा प्याकेजमा काम गरिनेछ । त्यसमध्ये एउटा प्याकेजका लागि जापान सरकारसँग सहयोग मागिएको छ । दुईवटा प्याकेजको काम भने आफ्नै स्रोतबाट सम्पन्न गर्ने तयारी छ । आगामी वर्षायाममा पनि गाडी चल्न सक्नेगरी बीपी राजमार्गको पुनर्निर्माण गरिने लक्ष्य रहेको उनको भनाइ छ ।
उनले अहिले त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, पूर्व पश्चिम राजमार्ग लगायत सबै मुख्य राजमार्ग निर्माणको चरणमा रहेकोले यातायातको अवस्था केही असहज भएको भन्दै यसका बाबजुद प्रहरी, ट्राफिक प्रहरी लगायत सुरक्षा निकायको समन्वयमा सहज यात्राको व्यवस्था गरिएको दाबी गरेका छन्।
उनले पूर्व–पश्चिम राजमार्ग र उत्तर दक्षिणका करिडोर निर्माणको चरण रहेको भन्दै योबीचमा आएका निर्माणसम्बन्धी समस्या समाधान पनि गर्दै गएको समेत दाबी गरे ।
पुँजीगत खर्च ज्यादै नै न्यून भएको स्वीकार गर्दै उनले कतिपय मुख्य राजमार्गमा पनि हामीले अपेक्षित सफलता हासिल गर्न नसकेको बताए । उनले आगामी वर्ष नयाँ कार्यक्रम थप्ने भन्दा सुरु भएका आयोजनालाई नै सम्पन्न गर्ने लक्ष्य भएको भन्दै सांसदहरुलाई त्यसमा सहयोग गर्न आग्रह गरेका छन्।
सांसदहरूले पूर्व पश्चिम राजमार्ग, उत्तर दक्षिण करिडोर, बीपी राजमार्ग, त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, दाङदेखि रुकुम जोड्ने शहीद मार्ग, घोराहीदेखि होलेरी जोड्ने सडक लगायतको अवस्थाबारे जवाफ माग गरेका थिए ।