
काठमाडौ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले देशको खर्च घटाउने भन्दै मन्त्रीसहित २ सय २५ भन्दा धेरै राजनीतिक नियुक्तिलाई बर्खास्त गरेक छन्।
सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न सङ्घर्षरत रहेको बेला राष्ट्रपति मोहम्मदले गएको वर्ष सत्तामा आएपछि नियुक्त गरेका व्यक्तिलाई हटाउने आदेश दिएका हुन् ।
राजनीतिक नियुक्तिहरूको कटौतीले राष्ट्रपतिको सरकारी कार्यप्रणालीलाई सुव्यवस्थित गर्ने र सार्वजनिक कोषको अझ प्रभावकारी प्रयोग सुनिश्चित गर्ने व्यापक प्रयासहरूसँग मेल खाने राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ ।
बर्खास्त भएकामा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ जना निर्देशकहरू रहेका छन् ।
झण्डै पाँच लाख जनसङ्ख्या भएको सानो देशमा काम नै स्पष्ट नभई पद ओगट्नुको कुनै अर्थ नरहेको राष्ट्रपतिको भनाइ छ ।