
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपतिद्वारा इन्द्रजात्राको शुभकामना व्यक्त
यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवीकुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।
राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पर्याप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको शुभकामना सन्देशमा भनेका छन् ।
राष्ट्रपति पौडेलले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना कामना व्यक्त गरेका छन् ।