
काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय अध्यक्षमा विकाश थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
आज बिहीबार रिपोर्टर्स क्लब नेपालको एक कार्यक्रममा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा र प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । थापा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको संस्थापक सदस्य हुन् । उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसको पूर्व महासमिति सदस्यसमेत हुन् । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन चैत्र ८ र ९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुँदैछ ।
महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यतालिका रहेको छ ।
अध्यक्ष पदका उम्मेदवार थापाले अपाङ्गता भएका नागरिकहरूको समान हक, अधिकार, सम्मानित जीवन र समावेशी लोकतन्त्रको सशक्त आधार तयार पार्ने संकल्पको साथ महाधिवेशनमा होमिएको बताए । उनले महाधिवेशनमार्फत अपागता भएका व्यक्तिहरूको नेतृत्वलाई स्थापित गर्दै कांग्रेसलाई थप जनउत्तरदायी, समावेशी र संघर्षशील बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारी बोक्न आफू तयार रहेको पनि सुनाए ।