
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले विश्वेश्वरप्रसाद कोइरालाको समाजवादसम्बन्धी व्याख्यालाई पुनर्व्याख्या गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यसतर्फ नेपाली कांग्रेसका नेताहरूको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आज १११ औं जन्मजयन्ती हो । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै एमाले सांसद पन्तले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन् ।
एमाले सांसद पन्तले नेपालका सबै राजनीतिक दलका नेता, कार्यकर्ता र विद्यार्थीहरूलाई बीपीका कृतिहरू अध्ययन गर्न समेत सुझाएका छन् । नेपालको राजनीतिक आन्दोलनको जानकारी पाउनका लागि समेत बीपीका कृतिहरू पढ्नुपर्ने उनको राय छ ।
बीपी कोइरालाका कृतिहरू पढौं । सांसद पन्तले उहाँको कृतिहरू पठनीय छन् र तिनीहरू पढ्दा नेपालको राजनीतिक आन्दोलनको बारेमा पनि जानकारी पाइन्छ भनेका छन् ।