
काठमाडौँ । आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक “राष्ट्र सेवा शक्ति साधना नशामुक्ति शिविर”को निःशुल्क आयोजन गरिएको छ।
भगवती मानव कल्याण संगठनले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी शुक्रबार र शनिबार पाशुपत क्षेत्रस्थित पार्किङ ग्राउण्डमा कार्यक्रम हुने जनाएको छ।
कार्यक्रममा नशामुक्तिका लागि देश–विदेशबाट ३० हजारभन्दा अधिक व्यक्तिहरुको सहभागिता रहने संगठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्राले बताए।
उनले शिविरमा भगवती मानव कल्याण संगठन एवं पञ्चज्योति शक्ति तिर्थ सिद्धाश्रम ट्रस्टका संस्थापक सञ्चालक शक्तिपुत्रजी महाराजको सानिध्यमा देश विदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने दाबी गरेका छन्।
दुई दिवसीय कार्यक्रममा पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको संगठनका प्रचारमन्त्री नारायण सेंढाइले जानकारी दिएका छन्। उनले दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुने बताए।
यस्तै, साँझ ४ बजेदेखि ५ बजेसम्म दुर्गा भवानीको दिव्य आरती हुने एवम् कार्यक्रमको दोश्रो दिन बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुने संगठनले जनाएको छ। साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिने संगठनले जनाएको छ।