
काठमाडौँ । हालै निधन भएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई शनिबार आज काठमाडौंमा स्मरण गरिएको छ ।
गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले कामतको निधन भएको १० दिनमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उनको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्याएको योगदानको चर्चा गरियो ।
कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलोपटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै गीतसङ्गीत सदैव अमर रहने बताएका छन् । कलाकार श्रेष्ठले गायक कामतको गीतसङ्गीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुनेमा जोड दिए । उनले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन गीतसङ्गीतलाई हेर्न गठित संस्थाले सतर्कता अपनाउनुपर्ने बताए ।
गायक कामतसँग निकट गायक तथा कलाकार मुरलीधरले आफूले भाइ गुमाएको बताए । उनले गायक कामतको सम्झनामा गीत पनि गाए । सङ्गीतकार राजु सिंहले गायक कामत सङ्गीतको अनुशासित साधक भएको बताए ।
कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष प्रभातसगार सिंह प्रधानले एउटा सर्जक उपचार गर्न नसकेर काठमाडौँ छाडेर गाउँ फर्कनु पीडादायक रहेको बताए ।