
काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।
माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्बाट विधेयक समेत पारित भएकोमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो ।
नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेट्दै बधाई ज्ञापन गरेका हुन् ।
उपमन्त्री बर्माले नेपाल र अमेरिकाबीच ७७ वर्षदेखिको सम्बन्धको सम्झना गर्दै नेपालको विकासमा आफ्नो देश साझेदार हुन पाएकोमा खुसी समेत व्यक्त गरेका थिए ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।