
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको २०८२,८३ को नीति तथा कार्यक्रम मार्फत निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिलाई प्रमुख प्राथमिकता दिएको छ ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई विश्वासमा लिने प्रयन्त गरेको देखिन्छ । वर्तमान सत्ता समीकरण बनेसँगै निजी क्षेत्रलाई प्रोत्साहन र विश्वासमा लिएर काम गर्ने योजना अनरुप अध्यादेश मार्फत व्यवसायलाई सहजीकरण गर्ने नीतिलाई नीति तथा कार्यक्रम समावेश गरिएको छ ।
सरकार संसद्को दुवै सदनमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा खासै नयाँ कार्यक्रमहरू ल्याएको छैन । तर पुरानै कार्यक्रमलाई निरन्तरता दिए पनि निजी क्षेत्र देखि युवा (जेन जी पुस्ता) प्रमुख प्राथमिकतामा राखेर स्टार्ट–अपका कार्यक्रम देखि कृषिमा युवालाई सक्रिय बनाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई लगानीका लागि आवश्यक पर्ने नीतिगत सुधार गर्न सरकार तत्पर रहेको प्रतिबद्धता जनाएका छन् ।
सरकारले विभिन्न फोरमहरूमा भन्दै आएको र अध्यादेश मार्फत ल्याएका नीतिहरूले निजी क्षेत्र मैत्री देखिने गरेको थियो । त्यति हुँदा हुँदै पनि सरकारले निजी क्षेत्रलाई थप प्रोत्साहन गरी खुसी बनाउनको लागि नीति तथा कार्यक्रममा नै आवश्यक नीतिहरू सुधार गर्ने दोहोर्याएर प्रतिबद्धता जनाएको छ ।
धौवादी फलाम कारखानालाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने बताएका छन्। व्यवसायीक सम्भावना भएका रुग्ण उद्योगहरूलाई व्यवस्थापनका लागि उपयुक्त विधि अपनाई पुन सञ्चालन गरिने राष्ट्रपति पौडेलले जानकारी दिए ।
उनले औद्योगिक,विशेष आर्थिक क्षेत्र र पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्राथमिकता दिइने बताए । सरकारले विशेष आर्थिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने जनाएको छ ।
नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा नीति कार्य योजना लागू गरी निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरिने भएको छ ।