
काठमाडौं । आज जुन २६ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँएको छ।
लागुऔषधको बढ्दो प्रयोग र त्यसबाट समाजमा पर्ने गम्भीर असरबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा पारित गरेको प्रस्तावअनुसार सन् १९८८ देखि प्रत्येक वर्ष जुन २६ मा यो दिवस मनाउन थालिएको हो। लागुऔषध दुरुपयोगमुक्त समाज निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य र साझा प्रतिबद्धतालाई सुदृढ बनाउने सन्देश यस दिवसले दिने गर्दछ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला वर्षहरूमा विश्वभर लागुऔषधको प्रयोग र अवैध कारोबार बढ्दो क्रममा छ। विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ भने कम लागतमा उत्पादन गर्न सकिने र पहिचान गर्न कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि तीव्र रूपमा फैलिरहेको छ।
लागुऔषध दुव्र्यसनलाई सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा र आर्थिक विकासका लागि गम्भीर चुनौती, नियन्त्रणका लागि सरकार, समुदाय र नागरिकको संयुक्त प्रयास आवश्यक रहेको छ।