
काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत बिजुली लिएका उद्योगीद्वारा उपभोग गरेको प्रमाण देखिने टाइम्स अफ डे (टीओडी) मिटरको तथ्याङ्क पेस गरेपछि समितिले प्रमाण छान्न थालेको छ।
नेकपा एमालेले नेतृत्व गरिरहेको लेखा समिति यसअघि एक पटक व्यापारीसँगको भेटघाटपछि उनीहरूको इशारामा प्रतिवेदन तयार गरेको विवादमा परिसकेको समयमा यस्तो विवरण प्राप्त भएको छ।
समितिका सभापति ऋषिकेश पोखरेलले व्यापारीहरू भेटेको र समितिको प्रतिवेदन छलफल नै नगरी बाहिरबाट लेखाइएको आरोप लागेको थियो । तर सभापति पोखरेलले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । समितिमा करिब १ लाख पानाको विवरण प्राप्त भएको र सचिवालयले आजदेखि नै आवश्यक प्रमाण अध्ययन थालेको सभापति पोखरेलले बताए ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत हप्ता निर्देशन दिएपछि प्राधिकरणले बिहीबार टीओडी मिटरको तथ्याङ्क र अन्य प्रमाण समितिमा पेस गरेको थियो । उनका अनुसार टीओडी मिटरको प्रोफाइलसहितको तथ्याङ्क, वर्षौंदेखिको लगबुक, एम्पायरमा भएको बिलिङको लेजर, उद्योगीलाई छुट दिएको बिलको विवरण र विभिन्न अदालतका फैसलासमेत समितिमा पेस भएको छ।
समितिका सचिव एकराम गिरीले प्राधिकरणबाट ३२ पोका फाइल लेखा समितिलाई प्राप्त भएको र यसलाई छनोट गरी आवश्यक नभएका फाइल प्राधिकरणमै फिर्ता पठाइने बताए ।