
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दसैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम सुरु गरेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले दसैँको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताए । उनले नियमित रूपले बनाउने सडक पूर्वाधारसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गरेका छन् । उनले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिएका छन् । उनले संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरूमध्ये ५ हजार किलोमिटर सडक मर्मत अघि बढेको उल्लेख गरे ।
मन्त्री दाहालले निर्माणाधीन बाटोमा पनि सहज आवागमन गराउने कुरामा सरकार गम्भीर भएर लागेको जानकारी दिएका छन् । उनले निर्माणाधीन सडकमा सहज यातायात आवागमनको लागि निर्माण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएको बताए । उनले सडक सुरक्षा ऐन अहिलेसम्म नबनेकाले कानुन बनाउन सरकार लागेको बताए ।
मन्त्री दाहालले रुग्ण आयोजनाहरूको काम अघि बढाउनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएर काम भइरहेको बताए । उनले निर्माण व्यवसायहरूसँग अध्ययन गर्ने भनि सरकार र निर्माण व्यवसायी महासंघले निकालेको निष्कर्षका आधारमा रुग्ण आयोजना अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको पनि बताए ।