
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका वन क्षेत्रमा कृषिबाली र फलफूल खेती गर्न मिल्ने निर्णय गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका ओलीले वन क्षेत्र भएपनि रुख विरुवा नभएका जग्गामा खेती गर्न दिने व्यवस्था गर्न लागिएको बताएका छन् ।
यसले राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जाने र देशमा आत्मर्भिरता बढ्ने बताए । उनले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिँदै जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययन हुनुपर्ने बताए । सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने उनको भनाइ छ ।
मुलुकको आवश्यकतालाई ध्यान दिएर दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
‘