
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् ।
नेपाल उद्योग परिसंघले काठमाडौँमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताएका हुन्।
नेपालमा ठुलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आफूहरूले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताएका छन् ।
देशभित्र र बाहिरको लगानी ल्याउन सहयोग हुने गरी लगानी सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उनले उक्त सम्मेलनमा देशभित्र र बाहिरबाट महत्त्वपूर्ण प्रतिनिधित्व रहेको बताएका छन् ।
आफू हाल सरकारमा नभए पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले लगानीमैत्री बनाउन र आर्थिक रूपान्तरणमा योगदान दिन लागिरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।