
काठमाण्डौ । गोरखाको गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ र अर्का एक सैनिक घाइते भएका छन् ।
हिजो बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका इलाम घर भई गोरखामा कार्यरत २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।
सुरेन्द्र र जनम नेपाली सेनाको रिपूमर्दन गण गोरखामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । ग १ क ५६५४ नम्बरको टिपर र बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।