
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताए ।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले खुसी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५(१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताएका छन् ।
उनले उक्त निर्णय हजारौँ शहीदहरूको निम्ति र बेपत्ता योद्धाहरूलाई गरिएको उच्च सम्मान भएको जिकिर गरे । उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र बिदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताएका छन् ।
उनले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सीमित हुने बताए । उनले आफू प्रधानमन्त्रीमा रहँदै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गरेका छन् ।