
काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाण्डौ उपत्यकामा तीन वटा टोली परिचालन गरेको छ ।
विभागले हिजो काठमाण्डौ महानगरपालिका–२५ न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका–२४ इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स, महानगरपालिका–२२ न्यूरोडमा रहेको कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएका छन् । अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एकपटक प्रयोग भएको तेल बारम्बार प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उनले दिए ।
यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका–११ मा रहेको प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । यो केन्द्रमा वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर जुजुघ्यू नाममा एक र दुई लिटरका ७२ डब्बामा नक्कली घ्यू र एक सय ५० ग्रामको एक सय डब्बा नक्कली घ्यू स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।