
काठमाण्डौ । मनसुन सकिने बेलामा भएको मुसलधारे वर्षाका कारण धानबालीमा क्षति भएको छ ।
वर्षाका कारण धानबालीमा कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको भए पनि धानबालीमा क्षतिभने पुगेको कृषि विभागका प्रवक्ता डा. अरुण काफ्लेले बताए।
छिटो रोपाइँ सकिएका तराईका कतिपय ठाउँमा धान काट्ने बेला शुरू भएको छ । झरी पर्दा पाकिसकेको धान झर्न सक्छ । केही धानबालीमा बाढी पसेको छ । बाढी पसेको ठाउँमा धान पुर्ने तथा ढाल्ने जोखिम हुन्छ । मध्यपहाडका कैयौँ ठाउँमा अहिले धानका बोटमा फूल लाग्ने बेला भएको छ ।
फूल लाग्ने बेला पानी पर्दा बोटबाट फूल झारिदिन्छ । जसले गर्दा धानमा फल लाग्न पाउँदैन । यसपटक समयमै पर्याप्त पानी परेकोले धान उत्पादन बढ्ने अनुमान् गरेकोमा मनसुन बाहिरिने बेला भएको झरीले क्षति पुयाएको छ ।