
काठमाण्डौ । असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व आज शुक्रबार एकै दिन परेको छ ।
महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी मनाईंदैछ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।
महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
आजैका दिन राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरु उपत्यकाबाहिरका शक्तिपीठ र देवी मन्दिरमा पूजा गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्छ ।
आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पूजा गर्ने गरिन्छ । आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि चढाई पूजा गर्ने समेत चलन छ ।
आजै महानवमी पर्व पनि परेको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइनेछ । दशैँको मुख्य दिन भोलि शनिबार विजयादशमी पर्व मनाइे भएको छ ।