
काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनाले एमालेका कार्यकर्ता र मतदाताको अपमान भएको बताउएकी छन् ।
पाण्डेले व्यापारीको पैसामा भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख जना मतदाताको अपमान भएकोले यो गलत निर्णय तत्काल सच्चाउन आग्रह पनि गरेकी छन् । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको विन्दा पाण्डेले फेसबुकमा उल्लेख गरेकी छिन् ।
मनमोहन अधिकारी र मदन भण्डारीहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्ने विन्दा पाण्डेको माग छ । विवादमा परेका व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा पार्टी मुख्यालय बनाउने कार्यप्रति एमालेका अरु नेताहरुले पनि असन्तुष्टी जनाएका छन् ।
भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले काठमाण्डौको कीर्तिपुरमा १० रोपनी भन्दा धेरै जग्गा दान दिएर एमालेको केन्द्रीय कार्यालय बनाइदिँदै छन्। प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङले केही दिनअघि भवनको शिलान्यास समेत गरिेका थिए ।