
काठमाण्डौ । इलामको चुलाचुली गाउँपालिका–१ मा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको छ ।
सोमबार, हिजो बेलुका गाउँ पसेका हात्ती भगाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते भएका थिए । राईलाई झापाको दमकमा रहेको लाइफलाइन अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच हिजो नै बारामा हात्तीको आक्रमणबाट कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षका हस्तबहादुर थोकरको मृत्यु भएको छ । जङ्गलमा घाँस काट्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरीको भनाइ छ ।
यसैबीच सर्लाहीको बरहथवा–९ मुर्तियामा जङ्गली हात्तीले धानबाली नष्ट पारेको छ । गएराति आएको तीन वटा जङ्गली हात्तीले ३५ बिघा क्षेत्रमा लगाएको धानबाली खाएर नष्ट पारेको स्थानीयवासीले बताएका छन् ।