
काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको बताएका छन् ।
६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा मंगलबार भएको कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए ।
गृह मन्त्रालयले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समेटेको उनले बताए । उनले गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभामा पेश गर्ने लक्ष्य राखेको जानकारी दिए ।
सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न पनि गृहमन्त्री लेखकले निर्देशन दिए ।