
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् ।
राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतले बिदाइ गरेका थिए । बिदाइ समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो ।
अजरबैजानमा राष्ट्रपति पौडेलले पर्सि मङ्गलवार र कात्तिक २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलन भोलिदेखि शुरू भई मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रवार स्वदेश फर्कने भएका छन् ।