
काठमाण्डौः नेपाल र चीन दुवै देशले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेका छन् ।
नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले आज एकसाथ विज्ञप्ति निकालेर भ्रमणको औपचारिक घोषणा गरेका हुन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली आउँदो मङ्गलवार पाँच दिने चीन भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्तासँगै पेकिङ विश्वविद्यालयमा हुने कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैबीच प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा चीन पुगेकी छन् । सिचुवान प्रान्तको छेन्दुमा पुगेकी राणाले त्यहीँ चीनका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी गरेको भनिएको ुबेल्ट एन्ड रोड इनिसिएटिभु )बीआरआई) कार्यान्वयनको खाका सम्बन्धमा छलफल गर्ने तयारी छ । तर सम्झौताको खाकामा सत्ताधारी दलहरू र नेपालभित्रै सहमति जुट्छ कि जुट्दैन भन्ने अझै निश्चित भएको छैन ।