
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरूलाई सशक्त बनाएर नै देशलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताए । लोकतन्त्रको खुला मैदानमा नै नागरिकको जीवनमा प्रगति भएको जनाउँदै उनले बढ्दो जनआकाङ्क्षा र चुनौतीबीच राज्यको संस्थागत र सामर्थ्यबीच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको बताए ।
फागुन ७ ले देशलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रूपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताए ।
जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले नागरिकका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनाएको बताए ।
फागुन ७ गतेले सम्पूर्ण नेपालीलाई इतिहासप्रति गौरव गर्न, वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रूपमा पूँजीकृत गर्न अभिप्रेरित गरिरहने प्रधानमन्त्रीको भनाइ छ ।