
काठ्माडौ। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका नेपालका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरुप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहरवती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताएका छन्।
सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनी ज्वाई र चालकसहित ६ जना घाइते भएका छन् र उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।