
काठमाडौं। नेपाल कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समितिले कोदोको रक्सी संरक्षणको लागि राज्यले तत्काल नीति निर्माण गर्नुपर्ने र तत्कालका लागि कोदोबाट बनेको रक्सीलाई नोक्सान नगर्न अनुरोध गरेको छ ।
समितिले कोदोको रक्सी निर्यात तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने, रक्सी उत्पादन तथा गुणस्तर मापनका लागि वैज्ञानिक विधि अपनाउनेलगायत विभिन्न माग अघि सारेको छ । आज, बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले आउँदो आर्थिक वर्षबाट नै कानून बनाई कार्यान्वयन गरिनुपर्ने माग राखेको छ ।
हाल कोदो र मर्चाको प्रयोग गरी परम्परागत तरिकाबाट बनाईएको रक्सीको बिक्रि वितरणमा रोक नलगाउन समेत समिलिते अपिल गरेका छ । बरु, अन्य अखाद्य बस्तुहरुको मिसावटबाट बनेका रक्सीहरुलाई तत्काल अनुगमन गरी कारबाही गर्न सुझाव दिएको छ । कोदोको रक्सीको लागि कम्पनी तथा उद्योग स्थापना गर्नलाई तत्काल सहुलियत ऋणको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेको छ ।
घरेलु रक्सीलाई कानून बनाई वैध बनाउनुपर्छ भनेर सबैभन्दा पहिले नेपालमा तत्कालिन संविधान सभा सदस्य तथा कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले आवाज उठाएकी हुन् । उनै उषाकला राई र संघीय सरकारका पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको संरक्षकत्वमा छिरिङ ग्याल्बु लामाको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रियस्तरको ‘नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति’ गठन गरिएको जानकारी गराईएको हो ।