काठमाडौँ । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएपछि राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यस सन्दर्भमा युट्युबको दर्ता प्रक्रिया र हालको स्थितिबारे स्पष्टता माग्दै युट्युब र गुगललाई पत्राचार गरेको छ।
शुक्रबार पठाइएको इमेलमा भनिएको छ, ‘यो निर्देशनले युट्युब लगायतका प्रमुख प्लेटफर्महरूलाई असर गर्नेछ र यसको लाखौं नेपाली प्रयोगकर्ताहरूमाथि गम्भीर प्रभाव पर्नेछ।’ रास्वपाले युट्युबले नेपालमा शिक्षा, डिजिटल नवप्रवर्तन, उद्यमशीलता, पत्रकारिता र सिर्जनात्मक अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेको छ ।
‘सरकारी निर्देशनको पालना गर्दै नेपालमा दर्ताका लागि अहिलेसम्म के कस्ता कदम चालिएका छन् र तत्काल दर्तामा के कस्ता चुनौती वा अवरोधहरू रहेका छन्, पार्टीले युट्युब/गुगलसँग सोधेको । साथै, नेपाली प्रयोगकर्ताहरूको पहुँच सुनिश्चित गर्न दर्ता प्रक्रियाको स्पष्ट समयसीमा वा रोडम्याप प्रदान गर्न पनि आग्रह गरिएको छ।
