
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा जात्रा अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन् ।
विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका हुन् । उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुगेका जनाइएको छ ।
जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए ।
भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।